दफा २९
धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने
(१) संगठित संस्थाले एक पटकमा पचासजनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम निष्काशन गरिने धितोपत्रको दरखास्त खुला रहने अवधि तोकिए बमोजिम हुनेछ । (३) सार्वजनिक निष्काशन हुने धितोपत्रको मूल्य तथा बाँडफाँड सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ । (४) एक पटक सार्वजनिक निष्काशन गरिसकेको धितोपत्र बिक्री नभई एक वर्षभित्र पुन निष्काशन गर्नु परेमा त्यसरी धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले पहिले प्रकाशित विवरणपत्रमा उल्लेख भएका कुराभन्दा फरक भएका कुराहरु बोर्डको स्वीकृति लिई त्यस्तो फरक भएका कुरा र पहिले प्रकाशित भएको विवरणपत्र राखी धितोपत्र निष्काशन गर्न सक्नेछ ।